• Sunday 18th of October 2026

रहेनन् टाउको जोडिएका सबैभन्दा जेठा जुम्ल्याहा


  • धनकुटा खबर
  • .

अमेरिकाको पेन्सिलभेनियामा टाउको जोडिएका सबैभन्दा जेठा जुम्ल्याहाको मृत्यु भएको छ।

६२ वर्षीय लोरी र जर्ज शापेलको यही अप्रिल ७मा हस्पिटल अफ द युनिभर्सिटी अफ पेन्सिलभेनियामा मृत्यु भएको समाचार संस्था एपीले जनाएको छ।

गिनिज वर्ल्ड रेकर्डले उनीहरूलाई टाउको जोडिएर जिवित रहेका सबैभन्दा जेठा जुम्ल्याहाका रूपमा नाम राखेको थियो। उनीहरूको मृत्यु के कारणले भएको भन्नेबारे विस्तृत खुलाइएको छैन।

टाउको जोडिएका उनीहरूको छुट्टाछुट्टै मस्तिष्क छ। उनीहरूको रूची, सम्बन्ध र काम पनि छुट्टाछुट्टै थियो। सन् २००७ मा जर्ज पारलैंगिकको रूपमा खुलेका थिए।

५० वर्ष पुग्दा लोरीले एक अन्तरवार्तामा चिकित्सकले आफूहरू ३० वर्षसम्म पनि बाँच्छन् भन्ने नसोचेको सुनाएकी थिइन्।

‘जब हामी जन्मिएका थियौं, डाक्टरहरूले हामी ३० वर्षसम्म बाच्छौं भनेर पनि सोचेका थिएनन्। तर हामीले उनीहरूलाई गलत साबित गर्‍यौं,’ लोरीले भनेकी थिइन्।

जुम्ल्याहा सन् १९६१ सेप्टेम्बर १८ मा पेन्सिलभेनियाको वेष्ट रिडिङमा जन्मिएका थिए।

उनीहरू दुबै पब्लिक हाइ स्कुल र कलेज गएका थिए। लोरीले ६ वर्षसम्म एक अस्पतालमा लुगा धुने काम गरेकी थिइन्। लरी बलिङ गर्ने प्रतियोगिताको विजेता समेत रहिसकेको एपीले जनाएको छ।

६ वर्षसम्म काम गरेपछि जर्जको म्युजिक करिअरका लागि उनले सन् १९९६मा आफ्नो जागिर छाडेका थिए।

एक समाचारका अनुसार लोरीले एक पटक इन्गेजमेन्ट पनि गरेकी थिइन्। तर विवाह हुनुअघि नै पुरूषको दुर्घटनामा मृत्यु भएको थियो।

५० देखि ६० हजार जन्ममा एक पटक यसरी जोडिएका जुम्ल्याहाको जन्म हुने सम्भावना हुने एपीले जनाएको छ।्यसरी जन्मिने केही प्रतिशतमात्रै टाउकोमा जोडिएका हुन्छन्। अन्यको छाती, पेटमा जोडिने गरेका छन्।

यसअघि टाउको जोडिएर सबैभन्दा जेठा रहेका रोनी र डोनी गलयोनको सन् २०२०मा मृत्यु भएको थियो। उनीहरूको ६८ वर्षमा मृत्यु भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖