• Sunday 18th of October 2026

चार घन्टापछि निकालियो ललितपुरको भिरमा खसेका रोहितको शव


  • धनकुटा खबर
  • .

ललितपुरको भिरमा खसेका स्कुटर चालक रोहित गौतमको शव चार घन्टापछि निकालिएको छ।

बिहीबार मध्याह्न १२ बजेतिर बागमती गाउँपालिका वडा नम्बर- ३ स्थित झाँक्री डाँडाको भिरमा खसेका रोहितको शव अपराह्न सवा ४ बजे निकालिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।

सुनापति गाउँपालिका वडा नम्बर १ का रोहितको बागमती प्रदेश ०२-०४२ प ७९२६ नम्बरको स्कुटर सडकबाट करिब ३०० मिटर तल खसेको अवस्थामा फेला परेको थियो।

रोहित उक्त स्कुटर भएको ठाउँबाट अझै दुई/तीन सय मिटर तल लडिरहेको अवस्थामा फेला परेका थिए।
दुर्घटनाग्रस्त अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनास्थल पुगेर डोरीको मद्दतले शव र स्कुटर निकालेको हो। भिरमै खसेको ब्लुबुकको मद्दतले प्रहरीले रोहितको पहिचान गरी आफन्तलाई सम्पर्क गरेको हो।

रोहित बुधबार साँझ ५ बजेतिर भक्तपुरको दुवाकोटबाट स्कुटर लिएर हिँडेको खबर प्राप्त भएको एसपी सुवेदीले बताए।

त्यसपछि उनको मोबाइल अफ रहेको पनि उनले बताए। उनी कहाँ जाँदै थिए भन्नेबारे अनुसन्धान गर्न बाँकी नै रहेको प्रहरीले जनाएको छ।

रोहितको शव निकालेर पोस्टमर्टमका लागि पाटन अस्पताल लग्ने तयारी गरिएको थियो। तर परिवारको अनुरोधमा टिचिङ अस्पताल लगिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यो दुर्घटना नै भएको देखिएको छ।
‘अहिलेसम्म दुर्घटना भएर खसेको देखिन्छ। कच्ची बाटो र अलि साँघुरो भएको ठाउँ हो,’ एसपी सुवेदीले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖