काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मोडेल बनाउन मन लागेको बताएका छन् । बुधवार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा राजधानीमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डमाथि व्यङ्ग्य गरेका हुन् ।
देश र जनताको अवस्था दयनीय हुँदासमेत प्रधानमन्त्री प्रचण्ड फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्नेमा मात्र सीमित भएको आरोप लगाए । ‘हाम्रा प्रधानमन्त्री धेरै फुर्सदिला छन् । प्रधानमन्त्रीलाई गीतको मोडेलमा खेलाउन मन लागेको छ । म त फिल्मको डाइरेक्टर पनि हुँ । देशको विकास र जनताको अवस्था के छ ? उहाँ क्लिक फोटो खिच्यो, ट्याक्क ट्याक्क पोस्ट गर्यो । म खेती गर्दै छु अहिले खै मल ?’, प्रधानमन्त्रीमाथि उनले व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरे ।
यस्तै १० हजार जनप्रतिनिधि जम्मा भएर गरेको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध घोषणा गरेकोमा पनि उनले आक्रोश पोखे । ‘१० हजार जनप्रतिनिधि जम्मा भएर एक लाख ३९ हजार जनता भेला भएर गरेको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भन्दियो’, आक्रोश पोख्दै उनले भने, ‘महाधिवेशन नै नगर्नेहरू वैध, लाखौं जनता भेला भएर गरेको महाधिवेशन अवैध बडो अचम्म ।’
टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएकालाई क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्ती गर्न गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे । जसले घाइते व्यक्तिलाई उठाएर अस्पताल पुर्यायो उसैलाई ८ वर्ष जेल बस्नुपर्ने अवस्थाको उनले विरोध गरे ।
