• Monday 26th of October 2026

अहिलेको परिस्थिति प्रचण्डको कांग्रेसलाई भित्र्याउने र एमालेलाई बाहिर पार्ने षडयन्त्रको उपज : केपी ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा नयाँ बन्न लागेको सत्ता समीकरण देशका समस्या समाधान गर्न र जनतामा आशा जगाउनको लागि भएको बताउनुभएको छ ।

नेकपा एमाले केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई पार्टी कार्यालय च्यासलमा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले दुई बलिया शक्ति मिलेर सरकार गठन गर्ने कुरा देशका समस्या समाधान गरी अगाडि बढ्ने अन्तिम विकल्प भएकाले बताउनुभयो । देश निर्माणको लागि यो भन्दा बाहेक अरू कुनै विकल्प नभएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सहमतिको सरकार बनाउने नाममा कांग्रेसलाई सरकारमा भित्र्याउने र एमालेलाई गत वर्ष जस्तै सरकारबाट बाहिर पार्ने योजनाका साथ अगाडि बढेपछि अहिलेको नयाँ परिस्थिति सिर्जना भएको ओलीले स्पष्ट पार्नुभयो । आफूलाई प्रधानमन्त्री बन्न दिनुहुँदैन भनेर कम्युनिष्ट नेताहरू नै लागिरहेका उहाँले बताउनुभयो । अब सरकार परिवर्तन हुने र आफू प्रधानमन्त्री बन्ने ओलीले स्पष्ट पार्नुभयो । ‘सरकार परिवर्तन हुन्छ, हामी सरकारमा हुन्छौँ’, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले दुई ठुला दल नयाँ समीकरणका लागि समझदारी गरिसकेको परिस्थितिमा प्रधानमन्त्रीले विश्वासको मत खोज्नु भ्रममा बाँच्ने कुरा मात्र भएको उहाँले बताउनुभयो । ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अत्यन्त उदार मनका साथ एमालेले प्रधानमन्त्री बनाएको र एमाले सरकारमा सहभागी भन्दा पनि सहयोगीको रूपमा उपस्थिति भएर सहयोग गरेको बताउनुभयो । अनेक प्रयास गर्दा पनि देशले भोगिरहेका समस्या समाधान गर्ने दिशामा सरकारबाट केही काम नभएपछि विकल्प खोज्नु परेको उहाँले स्पष्ट पार्नुभयो ।

ओलीले पार्टीको नेतृत्वमा सरकार बने पनि सरकारको काम र पार्टीको काम फरक विषय भएकाले पार्टी निरन्तर मिसन–२०८४ मा लाग्ने बताउनुभयो । पार्टीका लागि मिसन–२०८४ सफल पार्ने कुरा प्रमुख भएकाले सरकारमा रहेका कारण यस अभियानलाई कुनै पनि हालतमा कमजोर र शिथिल पार्न नहुने धारणा राख्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖