उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्ध र कूटनीतिक मामिलामा राष्ट्रिय सहमति कायम गर्न आग्रह गरेका छन् । उनले कूटनीतिक आचार संहिता कार्यान्वयनमा सरकारले प्रभावकारी कदम चाल्ने बताए ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर मन्त्री श्रेष्ठले देशको हितलाई केन्द्रबिन्दुमा राखेर सहमतिका साथ अगाडि बढ्न दलहरूसँग आग्रह गरेका हुन् । ‘परराष्ट्र सम्बन्ध र कुटनीतिका मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता छ । देशको हितलाई केन्द्रबिन्दुमा राखेर सहमतिका साथ अगाडि बढ्नु पर्नेछ । परराष्ट्र नीति र राष्ट्र हितका मामिलामा राष्ट्रिय सहमति कायम गरौं । यसका लागि सबैसँग विशेष अपील गर्न चाहन्छु’ मन्त्री श्रेष्ठले भने, ‘आज स्वतन्त्र परराष्ट्र नीति, दक्ष र कुशल कुटनीति, सफ्ट पावरको सदुपयोग गरेर अगाडि बढ्न सकिन्छ । देशलाई गौरवशाली बनाउन सकिन्छ ।’
मन्त्री श्रेष्ठले दुई छिमेकी मुलुकसँगको मैत्रीपूर्ण सम्बन्धनलाई प्राथमिकता दिने र सबै मित्र राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अगाडि बढ्ने बताए ।
मन्त्री श्रेष्ठले रूसी सेनामा रहेका नेपाली नागरिकलाई घर फर्काउन सरकारले कूटनीतिक च्यानलमार्फत् पहल गरिरहेको बताए ।
