नेकपा एमाले रुपन्देहीकी पूर्वसचिवालय सदस्य देवी वाग्ले राजनीति छाडेर अहिले ट्याक्सी चलाउँछिन् । यसअघि उनले रुपन्देहीमै फूल (पुष्प) खेती गर्ने पहिलो महिला किसानको पहिचान बनाएकी थिइन् ।
पेट्रोलबाट चल्ने कार बेचेर दुई महिनादेखि व्यावसायिक रूपमा ईभी ट्याक्सी चलाउँदै आएकी वाग्लेको नयाँ कामबारे एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल जानकार रहेछन् ।
आफ्नो निर्वाचन क्षेत्र रुपन्देहीमा तीन दिने कार्यक्रममा आएका पौडेलले वाग्लेलाई फोन गरेर उनको ट्याक्सीमा चढ्न चाहेको बताएपछि उनी आइतबार बिहान ७ बजे नै बुटवलको मिलनचोकस्थित ड्रिम होटल अगाडि पुगिन् । अर्थमन्त्री होटलबाट निस्केर ट्याक्सीमा चढे । उनको सरकारी गाडी ट्याक्सीको पछि पछि गुड्यो ।
ट्याक्सी चढेपछि पत्रकारहरूसँग बोल्दै अर्थमन्त्रीले राजनीतिक पहिचान समेत बनाएकी महिला नेतृले व्यावसायिक रूपमा ट्याक्सी चलाउनु अरु महिला र युवाका लागि प्रेरणाको विषय भएको बताए ।
इन्धनबाट चल्ने गाडीले प्रदूषण र व्यापार घाटा बढाइरहेको सन्दर्भमा देवीले विद्युतीय गाडी चलाएकोमा उनले धन्यवाद दिए । साथै मन्त्री पौडेलले हौसला दिनका लागि पनि उनको ट्याक्सीमा चढ्न चाहेको बताए । ‘देवी वाग्लेलाई हौसला दिन र कुनै पनि काम सानो–ठूलो हुँदैन भन्ने आम महिला र युवामा सन्देश दिन उहाँको ट्याक्सी चढ्न बोलाएको हुँ,’ पौडेलले भने, ‘नेपाली समाजमा अझै पनि पुरुषले गर्ने कतिपय काम महिलाले शुरू गर्दा अविश्वास गर्ने, प्रोत्साहन नगर्ने परिपाटी छ, त्यसलाई अन्त्य गर्दै आफूसँग भएको सीपलाई आयआर्जनसँग जोड्नु राम्रो हो ।’
अर्थमन्त्री पौडेललाई वाग्लेले होटलबाट करिब दुई किलोमिटर पश्चिम सुन्दरनगर पुर्याएर छाडिन् । अर्थमन्त्रीले टिप्ससहित भाडा दिएको वाग्लले सुनाइन् ।
अर्थमन्त्रीले आफैं फोन गरेर आफ्नो ट्याक्सी चढेकोमा खुशी लागेको बताउँदै वाग्लेले भनिन्, ‘महिला भएकै कारण केही यात्रुले बुक गरेको ड्राइभ क्यान्सिल गरेका थिए, त्यसले मन दुखेको थियो, आज अर्थमन्त्रीज्यू चढेर राम्रो गर्नुभएको छ भनेपछि अघि बढ्न हौसला मिलेको छ ।’
वाग्लेले दुई वर्षभित्र लुम्बिनी प्रदेशमा कम्तीमा २५ जना नयाँ महिला ट्याक्सी चालक उत्पादन गर्ने लक्ष्य रहेको बताइन् । ‘१० वर्षअघि रुपन्देहीमा महिलाले फूल (पुष्प) खेती गरौं भन्दा शुरूमा कसैले पत्याएनन्, म आफैंले शुरू गरेपछि रुपन्देहीमा दर्जनौं महिला व्यावसायिक पुष्प खेतीमा आबद्ध छन्,’ वाग्लेले भनिन्, ‘अब आफैं ट्याक्सी चलाएर देखाएर दुई वर्षमा कम्तीमा २५ जना महिला ट्याक्सी चालक उत्पादन गर्ने लक्ष्य छ ।’
वाग्लेले ८ वर्ष अघि नै महिलाहरूलाई ड्राइभिङ तालिम दिनुपर्छ भनेर स्थानीय तहहरूमा लबिङ गरेको र महिलाले तालिम लिए पनि ट्याक्सी खरिद गर्न नसक्दा चालक बन्न नसकेको बताइन् । तर अहिले विभिन्न ई ड्राइभ कम्पनी खुलेकाले लाइसेन्स भएका महिलाले सजिलै काम पाउने वाग्लेले बताइन् । ‘अधिकारका कुरा गर्दा हरेक क्षेत्रमा आधा हिस्सा खोज्ने महिलाहरूले विभिन्न प्रकृतिका पेसा र काममा पनि पुरुषसँग प्रतिस्पर्धा सक्नुपर्छ, सकिन्छ भन्ने मेरो मान्यता हो,’ वाग्ले भन्छिन्, ‘ड्राइभिङ तालिम पछि लाइसेन्स लिने महिला पुरुषहरू खाली बस्नुपर्दैन, सके आफैं ट्याक्सी किनेर नभए अरुको भाडामा लिएर चलाउन पाइन्छ, आम्दानी पनि राम्रो हुन्छ ।’
वाग्लेले दैनिक औसत ५/७ हजार रुपैयाँ आम्दानी हुने गरेको बताइन् । आफू जीविकोपार्जनका लागि नभई अरु महिलालाई उत्प्रेरित गर्नका लागि ट्याक्सी चालक बनेको देवीको भनाइ छ ।-लोकान्तर
