काठमाडौ । नेकपा (एमाले) का पूर्व वरिष्ठ नेता भीम रावलले पार्टी नेतृत्वलाई चेतावनी दिँदै आगामी विधान अधिवेशनमार्फत विगतका त्रुटिहरू सच्याउन आग्रह गरेका छन्। उनले त्रुटि सच्याउन ढिलो भए एमालेले घोषणा गरेको ‘मिसन ८४’ नै ‘पतन ८४’ मा परिणत हुने दाबी गरेका छन्।
एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै रावलले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीप्रति आलोचनात्मक आवाजलाई निषेध गर्ने प्रवृत्ति बढ्दै गएको बताए। “अध्यक्षको विरोध गर्नेहरूलाई दबाउने काम भइरहेकाले एमाले आफैं निषेधको बाटोमा पुग्ने खतरा छ,” उनले भने।
रावलले ओलीलाई व्यक्तिगत सहजता हुने कुरामात्रै अघि सार्ने गरेको आरोप समेत लगाए। उनले उदाहरण दिँदै भने, “विगतमा अध्यक्ष ओलीले विद्या भण्डारीलाई राजनीतिमा आउन कोही रोक्दैन भनेका थिए, तर अहिले आएर उनीमाथि नै प्रतिबन्ध लगाउने प्रयास भइरहेको छ।”
उनका अनुसार मुलुकभर ओलीविरुद्ध उठेका आवाजलाई दबाउने प्रवृत्ति देखिएको छ, जसले अन्ततः पार्टीलाई नै संकटमा पार्नेछ। “यी सबै आवाजहरू एकै ठाउँमा भेला हुने दिन एमालेलाई मुस्किल हुनेछ,” रावलले चेतावनी दिए।
रावलको यस भनाइलाई एमालेभित्रको असन्तुष्टि बाहिर आएको संकेतका रूपमा हेरिएको छ। विधान अधिवेशन नजिकिँदै गर्दा ओली नेतृत्वले आन्तरिक असन्तुष्टिलाई कसरी सम्बोधन गर्छ भन्ने कुराले पार्टीको भविष्य निर्धारण गर्ने देखिएको छ।
