• Monday 26th of October 2026

‘बोल्ड भगवती’ : एकैदिन २१९ हाकिम सरुवा, १० सहसचिव पुगेन


  • धनकुटा खबर
  • .

काठमाडौँ । हिजो बिहानैदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन महाशाखामा ‘प्रेसर’ थियो । उसो त मन्त्रालयमा मन्त्री भगवती न्यौपानेको ‘इन्ट्री’ भएदेखि नै यो महाशाखामा कामको चाप छ । कारण हो स्थानीय सरकारमा देखिएको निमित्त अभ्यास । उनले कार्यभार सम्हाल्दा २ सय स्थानीय तह निमित्तको भरमा चलिरहेको थियो । न्यौपानेले मन्त्रालयका महाशाखा प्रमुखहरूसँग निमित्त नराख्ने गरी ‘होमवर्क’ गर्न दिएकी थिइन् ।

एक सातामा मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन महाशाखाले करिब ३ सय कर्मचारीको सूची तयार पार्‍यो । ‘हामीले लगातार यसका लागि काम गरिरहेका थियौँ । ३ सय सूचीमा कर्मचारीहरूको प्राथमिकता हेरेर सरुवा गर्न सक्ने सर्टलिष्ट बनायौँ । सोही अनुसार अन्तिम सूची तयार गरेका हौँ,’ एक कर्मचारी भन्छन् ।

अन्ततः बिहीबार उपसचिव र शाखा अधिकृतको सरुवा गरी देशभरका नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउन मन्त्री भगवती न्यौपानेले बोल्ड निर्णय गरिन् । नगरपालिकामा प्रशासन क्षेत्रका उपसचिव र गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी हुने गरेको छ ।

मन्त्रालयका एक उच्च अधिकारीसँग रातोपाटीलाई दिएको जानकारी अनुसार हिजो मात्रै १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा भएको जानकारी हो । ‘सङ्ख्याको हिसाबले १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा भएको छ,’ ती अधिकारीले भने– ‘यी सरुवामध्ये १०५ वटा नगरपालिकामा उपसचिव र ८६ वटा गाउँपालिकामा शाखा अधिकृत खटाएर निमित्त प्रमुख प्रशासकीय अधिकृतको अवस्था हटाइएको छ ।’

उनले थपे, ‘अब नभन्दा पनि उपसचिव र शाखा अधिकृत दरबन्दी हुनेमा निमित्त छैनन् ।’

१० सहसचिव पद अझै रिक्त

अब नेपालको ६ वटा महानगरपालिकामध्ये ५ वटामा मात्र सहसचिव कार्यरत छन् । एक महानगरका सहसचिवको दरबन्दी परिपूर्ति हुन सकेको छैन ।

यस्तै ११ वटा उपमहानगरपालिकामध्ये दुई वटामा मात्र सहसचिव कार्यरत छन् भने बाँकी ९ वटा उपमहानगरपालिकामा सहसचिव पद खाली छ । अब एउटा महानगरपालिका र ९ वटा उपमहानगरपालिका गरी कुल १० वटा स्थानीय तहमा सहसचिव पद अझै रिक्त रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖