• Monday 26th of October 2026

यस दसैँमा नयाँ नोट साट्न पाइने कि नपाइने,यसो भन्छ राष्ट्र बैंक


  • धनकुटा खबर
  • .

काठमाडौं । यस वर्षको दसैँमा पनि सर्वसाधारणले नयाँ नोट साट्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई यस वर्षको दसैँमा नयाँ नोट नभएर सुकिला नोट नै सटही गरिदिने भएको छ ।

नोटको प्रयोग बढाउन दसैँमा नयाँ नोट बजारमा नपठाउने नीति राष्ट्र बैंकले लिएको छ । नयाँ नोट एकैपटकमा पुराना भएर राष्ट्र बैंकमा नै फिर्ता आउने भएकाले नोट छाप्न लाग्ने लागत बचाउन दसैँमा सुकिला नोट नै सटही गर्ने व्यवस्था मिलाइने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए ।

“दसैँमा नयाँ नोट बजारमा पठाउँदा एक पटकमात्र प्रयोग बढ्यो । राष्ट्र बैंकले ती पैसा धुल्याउनुपर्ने बाध्यता भयो । नोट छाप्न लाग्ने लागत कम गर्न पनि सुकिला नोट नै दसैँमा साटही गर्ने निर्णय भएको छ,” पौडेलले बाह्रखरीसित भने ।

अहिले पनि सर्वसाधारणले राष्ट्र बैंक तथा बैंकहरूबाट सुकिला नोट साट्न पाउने उनी बताउँछन् । तर, दसैँकै लागि भनेर प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ तोकेर नै नोट सटही गर्ने व्यवस्था मिलाउन बैंकले सूचना जारी गर्ने उनी बताउँछन् ।

तर, पाँच रुपैयाँको नोट नयाँ नै साट्न पाइने पौडेलले बताए । “पाँच रुपैयाँका सुकिला नोट हामीसँग सकिएका छन् । पाँच रुपैयाँको बन्डल नयाँ नै पाइन्छ,” पौडेलले भने ।

राष्ट्र बैंकसँग भएका सुकिला नोट सकिएको खण्डमा नयाँ नोट पनि साट्न सकिने पौडेल बताउँछन् । तर, नयाँ नोट नै भनेर दसैँलक्षित नसाट्ने उनको भनाइ छ ।

“यदि बैंकहरूमा सुकिला नोट सकिए र राष्ट्र बैंकमा भएका सुकिला सुकिला नोट पनि सकिए भने आवश्यकताअनुसार नयाँ नोट पनि हामी बैंक तथा वित्तीय संस्थालाई दिन्छौँ,” उनले भने, “तर, हामीसँग पर्याप्त/पुग्ने सुकिला १०, २०, ५० र १०० रुपैयाँका नोट छन् ।”
राष्ट्र बैंकले गत वर्षदेखि दसैँका लागि नयाँ नोट सटही गर्न छाडेको हो ।

नोट छाप्न बढी लागत लाग्ने र दसैँमा नोटको सुरक्षा नहुने भएकाले पनि दसैँलाई भनेर नयाँ नोट सटही नगरिने नीति ल्याइएको उनी बताउँछन् ।
गत वर्ष पनि दसैँका लागि सर्वसाधारणलाई राष्ट्र बैंकले सुकिला नोट नै सटही गरिदिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖