• Saturday 17th of October 2026

आजको मौसम : तापक्रम घटेर कठ्याङ्ग्रिने जाडो हुने


  • धनकुटा खबर
  • .

काठमाडौं : जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले आइतबार आज साँझदेखि मौसम बदली हुने जानकारी दिएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारण बदलीको सम्भावना रहेको जानकारी दिएको हो ।

जुन प्रणालीको प्रभावका कारण आज साँझदेखि भोलि रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । साथै यो मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको पनि जनाइएको छ ।

जारी विशेष बुलेटिनमा भनिएको छ, ‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।’ महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा यसैअनुसार नियमित रूपमा अद्यावधिक गरिने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖