• Tuesday 27th of October 2026

एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेले यसअघि विधानमा रहेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र २ नेतृत्वमा कार्यकाल भन्ने विधानमा रहेको व्यवस्था संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार संशोधनमा प्रस्तावमा मुख्य गरी पार्टीमा अबदेखि सङ्गठित र साधारण सदस्य गरी दुई थरी सदस्यताको व्यवस्था रहने प्रस्ताव पारित भएको छ । त्यस्तै बैठकले जिल्ला कमिटीलाई कार्यकारी कमिटी हुने प्रस्ताव गरेको छ ।

बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुने विषयमा भएको छलफलमा अधिकांश सदस्यले बेठिक रहेको धारणा राखेका छन् । साथै भण्डारीलाई अहिले नै अध्यक्ष बनाउन नहुने पक्षमा सदस्यहरु उभिएका छन् । यद्यपि त्यसबारे अर्को कमिटीबाट निर्णय गर्ने एमालेले जनाएको छ ।

‘राष्ट्रको सर्वोच्च पदमा पुगेको व्यक्ति राजनीतिमा आउनु ठिक होइन भन्ने धारणा आएको छ । साथै उहाँलाई अहिले नै एमालेले अध्यक्ष बनाएर जाने सम्भावना छैन’, गौतमले बैठकको सार सुनाउँदै भने, ‘तर त्यसबारे अर्को कमिटीमा छलफल हुन बाँकी छ ।’

शनिबारको बैठकमा गोरख बोगटी, अग्नि खरेल, भीम आचार्य, मुकुन्द न्यौपाने, भानुभक्त ढकाल, केशव बडाल, गोकुल बास्कोटा, हिक्मत कार्की, थममाया थापा, लीला श्रेष्ठ, गोकुल घर्तिमगर, राजेन्द्र गौतम, लीला गिरी, जगत विक, कमल चौलागाईं, ईश्वरबहादुर रिजाल, जितु गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राणा, देवेन्द्र दाहाल, अरुण नेपाल, गोकुल घर्तीमगर लगायतले विधान संशोधन मस्यौदामाथि धारणा राखेका छन् ।

बैठकमा पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्नो धारणा राख्दै ११ औँ महाधिवेशनमा ओलीले नै पार्टी नेतृत्व गर्नुपर्ने बताए । पछिल्ला दिनमा प्रचण्ड, कांग्रेस नेता शेखर कोइराला र विद्या भण्डारीको भेटवार्तालाई बस्नेतले एमाले कमजोर पार्ने चाल भएको टिप्पणी गरे ।

‘अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अमरेश सिंहले भन्ने,’ बस्नेतले भनेका छन्, ‘चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्त्व सल्बलिएका छन् ।’

तर, अर्का पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पूर्व उपराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा निषेध गर्न नहुने धारणा राखेका छन् । बरु उनले भण्डारीलाई खुल्ला स्वागत गरेर काममा लगाउन अध्यक्ष ओलीलाई आग्रह गरे ।

‘म अध्यक्ष कमरेड केपी ओली र सम्पूर्ण नेतृत्व पङ्क्तिलाई अनुरोध गर्न चाहन्छु पार्टीमा विधि सम्मत पार्टीमा पुन क्रियाशील हुन चाहने पूर्वराष्ट्रपति लगायत सबैलाई निषेध गरेर होइन खुल्ला स्वागत गरेर काममा लगाउनुपर्छ’, पोखरेलले बैठकमा भनेका थिए । पार्टीभित्र र बाहिर एमालेमा मनोवैज्ञानिक भावनात्मक, राजनीतिक, संगठानिक र पार्टीको आन्तरिक एकता मजबुत गर्दै सबै समस्या समाधान गरी पार्टीलाई निर्णायक शक्ति र एकल बहुमतको सरकार बनाउन सक्ने सन्देश दिनुपर्नेमा पोखरेलको जोड थियो ।

‘दसौँ महाधिवेशनमा जब ७० वर्षे प्रावधान प्रस्तुत भयो र पास भयो मैले विश्वास गर्न थालेँ अब नेतृत्वमा नयाँ पुस्ताको आगमन हुनेछ’ पोखरेलले भनेका छन्, ‘शङ्कर पोखरेल जस्ता ऊर्जाशील कमरेडहरू अध्यक्ष बन्नेछन् भन्ने आशा पलाएको थियो, आज आशा गरेकै कमरेडहरूबाटै वर्तमान विधान संशोधनको नयाँ प्रस्ताव बैठकमा प्रस्तुत भएपछि मेरो विगतको विश्वास खण्डित भएको छ ।’

नेता गोकुल बाँस्कोटाले मध्यमार्गी धारणा राखेका छन् । बास् कोटाले पार्टीमा विद्या भण्डारीको विषयमा देखिएको विवाद मिलाउन विश्वासिलो आधार तयार पार्न नेतृत्वलाई सुझाव दिए । ओली र भण्डारी छलफल गरेर विवाद टुङ्ग्याउनुपर्ने भन्दै राजनीतिक ढङ्गबाटै समस्या सुल्झाउनुपर्नेमा बाँस्कोटाको जोड थियो ।

‘अध्यक्ष र पूर्व राष्ट्रपतिबिचको विश्वास र सहकार्यको सम्बन्ध एमालेका साथीहरूलाई मात्र होइन, दुनियाँलाई थाहा छ,’ बैठकमा उनले भनेका छन्, ‘तपाईंहरू आपसमा छलफल गरेर राजनीतिक ढंगले सुल्झाउनुस्, प्राविधिक कुराले होइन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖