काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल हालै राखेको स्टाटसले नेपालको लिपुलेक नाकासँग सम्बन्धित भारत-चीन व्यापार सम्झौताको विषयलाई पुनः चर्चामा ल्याएको छ।
मेयर शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै भने, लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमति नेपालको सार्वभौमिकतामा अतिक्रमण भएको हो र यसबारे गम्भीर चासो व्यक्त गरेका छन्।
उनले आफ्नो स्टाटसमा लेखेका छन्,
“चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु। नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला। All the best हामीलाई तपाईं माथी पूर्ण विश्वास छ।”
यो स्टाटसले लामो समयदेखि चल्दै आएको लिपुलेक, कालापानी, र लिम्पियाधुरा क्षेत्रको विवादलाई पुनः उजागर गरेको छ। भारत र चीनले अगस्त १८–१९, २०२५ मा चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक नाकासहित तीनवटा सीमा व्यापार मार्ग पुनः सञ्चालन गर्ने सहमति गरेका थिए। यसको जवाफमा नेपालले अगस्त २१ मा परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रहरू नेपालको अभिन्न भूभाग भएको र नेपालकै सहमति बिना कुनै निर्णय नगर्न आग्रह गरेको थियो।
नेपालले सन् १८१६ को सुगौली सन्धिलाई आधार मान्दै काली नदीको पूर्वी भूभाग आफ्नो क्षेत्र रहेको दाबी गर्दै आएको छ। तर भारतले काली नदीको उद्गम कालापानी गाउँमा भएको दाबी गर्दै उक्त क्षेत्र आफ्नो नियन्त्रणमा राखेको छ। सन् १९५४ देखि भारत र चीनले लिपुलेक मार्गमार्फत व्यापार गर्दै आएको भनी भारतको तर्क छ, जसलाई नेपालले बारम्बार अस्वीकार गर्दै आएको छ।
