कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शनिबार बिहान करिब ९:४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ क ६६६ नम्बरको ट्रक र बा ८३ प ४४८४ नम्बरको मोटरसाइकल तथा विपरीत दिशाबाट आउँदै गरेको रा ३ प ३५८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा रा ३ प ३५८४ नम्बरको मोटरसाइकल चालक अन्दाजी ३४ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। नामथर र ठेगाना नखुलेका उनलाई उपचारका लागि आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटा लगिएकोमा बिहान १०:०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै, बा ८३ प ४४८४ नम्बरको मोटरसाइकल चालक दाङको गढवा गाउँपालिका–२ बचैयाका २३ वर्षीय दिलीपकुमार यादव र पछाडि सवार गढवा गाउँपालिका–१ हेठान गाउँका २१ वर्षीय अनिल योगी घाइते भएका छन्। उनीहरूको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन र ट्रक चालक पर्साको पोखरिया नगरपालिका–६ सिरसियाका ३२ वर्षीय ओमप्रकाश महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
