काठमाडौं । काठमाडौंको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक युवकको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शनिबार राति करिब १२:१२ बजे काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरी चोकको सडकखण्डमा दुई युवाबीच विवाद भई झगडा भएको थियो।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्ने २० वर्षीय सुवाश तामाङबीच झगडा भएको जनाइएको छ।
झगडाका क्रममा सुवाश लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो १:३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा अर्जुन ताम्राकारलाई नियन्त्रणमा लिएको छ।
घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
