काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री बालेन उद्घाटनका लागि अपराह्न त्रिवि क्रिकेट मैदान जाने तयारी छ ।
शाहले आजै तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् ।
बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजनाका रूपमा उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने विदेशी खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघलाई शुभकामना दिएका हुन् ।
‘नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजना नेपाल प्रिमियर लिग आजदेखि सुरु हुँदैछ । केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ,’ उनले लेखेका छन् ।
उनले प्रतियोगितामा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक तथा क्यानलाई सफल आयोजनाका लागि शुभकामना दिएका छन् ।
