• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

हुस्सु कुहिरो लागेका बेला यात्रामा निस्कँदा या मर्निङवाक गर्दा सावधानी अपनाउन सुझाव


  • धनकुटा खबर
  • .

काठमाण्डाै – बिहान हुस्सु कुहिरो लाग्न थालेकाले यात्रा गर्दा वा मर्निङवाक गर्दा सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । केही दिनयता काठमाण्डाैसहित पहाडी क्षेत्रमा बिहानपख र तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु कुहिरो लाग्न थालेको छ ।

हुस्सु कुहिरो लागेका बेला भिजिबिलिटी घट्ने र यस्तो बेला दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन मौसमविद् सञ्जीव अधिकारीको सुझाव छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले हिजोअस्तिको जस्तै हुस्सु कुहिरो लागेको छ ।

काठमाण्डौसहित पहाडी क्षेत्रमा केही समयपछि हुस्सु कुहिरो हटेर घाम लाग्ने अनुमान छ । तर, आज पनि मौसम पूरै खुल्ने सम्भावना नरहेको मौसमविद् अधिकारीले बताउनुभयो । पानी पर्ने सम्भावना नभए पनि दिउँसो बादल लाग्ने उहाँले बताउनुभयो । पहाडी क्षेत्रको मौसम दिउँसो आंशिक बदली हुनेछ । यस्तै, तराईमा भने दिउँसोपछि मात्रै हुस्सु कुहिरो हट्ने मौसमविद्ले बताएका छन् ।

हुस्सु कुहिरो लागेका बेला तीव्र गतिमा गाडी नचलाउन र सडक वारपार गर्दा पनि गाडी आए नआएको राम्ररी हेर्न ट्राफिक प्रहरीको आग्रह छ । यस्तै, मोटरसाइकल तथा साइकल चलाउँदा टल्कने खालको ज्याकेट लगाउन र पैदल यात्रुलाई कानमा इयर फोन लगाएर नहिँड्न ट्राफिक प्रहरीले सुझाव दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖