• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नामिबियासँग लगातार दोस्रो हारपछि नेपालका प्रशिक्षक र कप्तान के भन्छन्?


  • धनकुटा खबर
  • .

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पराजित भयो। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कमजोर ब्याटिङ गर्दा नेपालले २ विकेटको हार व्यहोर्न बाध्य भयो।
टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल १६८ रनमा अलआउट भएको थियो। जुन लक्ष्य नामिबियाले ८ विकेट गुमाएर पूरा गर्‍यो।

खेलपछि नेपालका प्रशिक्षक मोन्टी देसाइले पहिले ब्याटिङ गर्नका लागि योजना बनाए पनि त्यसमा सफल नभएको बताए।

‘हामी यो मैदानमा पहिले ब्याटिङका लागि तयार थियौं। त्यसका लागि योजना पनि बनाएका थियौं। हामीले पाँच ओभरमा राम्रो सुरूआत गर्न पनि सफल भयौं,’ उनले भने, ‘कुशल आउटपछि अनिल पनि दुर्भाग्यवस आउट हुन पुगे। खेलमा यस्तो भइरहन्छ।’

१० ओभरको पहिलो पावरप्लेमा तीन विकेट गुमाए पनि कुशल मल्ल र आसिफ शेखले राम्रो साझेदारी गरेको भन्दै मोन्टीले प्रशंसा गरे। तर कप्तान रोहित पौडेलसहितका मुख्य ब्याटर आफ्नो भूमिकामा केन्द्रित हुन नसकेको उनको भनाइ छ।

आरिफ शेखलाई बेञ्चमा राख्ने निर्णय गाह्रो भएको बताउँदै मोन्टीले करण केसीका लागि टिममा योजना भएकाले स्थान दिएको तर्क गरे।

१६९ रनको लक्ष्य भए पनि नेपालले बलिङ र फिल्डिङमा राम्रो प्रदर्शन गरेको उनको भनाइ छ। अब नेपालले आइतबार नेदरल्यान्ड्ससँग खेलेपछि यो सिरिज सकिनेछ। त्यसपछि नेपालले सेप्टेम्बरमा मात्र लिग-२ को सिरिज खेल्नेछ।

त्यसअघि नेपालले अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप खेल्ने कार्यक्रम छ। प्रशिक्षक मोन्टीले यो सिरिजपछि नेपाली टिम पूर्णत: टी-२० खेलमा केन्द्रित हुने समेत बताए।

नेपालका कप्तान रोहितकुमार पौडेलले आफ्नो प्रदर्शन राम्रो हुन नसकेको भन्दै जिम्मेवारी लिने बताए। उनले पावरप्लेमा तीन विकेट जाँदा तथा आफू र दीपेन्द्रले राम्रो ब्याटिङ गर्न नसक्दा नेपालले राम्रो स्कोर बनाउन कठिन भएको बताए।

उनले नेपालको ब्याटिङ अडर स्पष्ट भएको तथा परिस्थिति अनुसारको अडर निर्माण गर्न नेपाल तयार रहेको पनि बताए।

रोहितले पहिलो खेलमा नामिबियासँग हारेपछि नेदरल्यान्ड्सविरूद्ध कमब्याक गरेको बताउँदै नेपालले फेरि कमब्याक गर्ने समेत प्रतिक्रिया दिए।
उनले त्रिवि मैदानमा टस जित्ने वा हार्नेभन्दा पनि नेपालले ब्याटिङ गर्न नसक्दा हार बेहोर्नु परेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖