• Monday 19th of October 2026

बाबुराम भट्टराई विना माओवादीसँग एकता गर्ने नेसपाको सहमति


  • धनकुटा खबर
  • .

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने सहमति गरेको छ।

नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव सहितको टोलीले माओवादीसँग एकता गर्ने सहमति गरेको हो। शनिबार प्रधानमन्त्री एव माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको एकता संयोजन समितिको बैठकले चार बुँदे सहमति गरेको छ।

बैठकमा अध्यक्ष दाहालसँगै माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ तथा नेसपाको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए। नेसपाका अध्यक्ष भट्टराई भने बैठकमा सहभागी थिएनन्।

दुवै पार्टीको एकीकरणपछि आगामी महाधिवेशनबाट नयाँ नाम टुंगो लगाउने पनि सहमति गरेका छन्। पार्टी एकताका लागि माओवादीको तर्फबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाको तर्फबाट सहअध्यक्ष श्रेष्ठ र महासचिव यादवको कार्यदल गठन गरिएको छ।

एकताको सहमतिपछि माओवादीका महासचिव गुरुङ र नेसपाका महासचिव यादवले संयुक्त प्रेस नोट जारी गरी यस सम्बन्धी जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖