• Monday 19th of October 2026

कांग्रेस संसद्लाई बन्धक बनाएर राख्ने पक्षमा छैन : रामहरि खतिवडा


  • धनकुटा खबर
  • .

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो पार्टी संसद्लाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन् । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै कांग्रेसले संसद् अवरुद्ध पारिरहेका बेला सांसद खतिवडाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

ढुवानी व्यवसायी महासंघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसद खतिवडाले कानून निर्माण गर्ने थलो संसद्लाई बन्धक बनाएर, तर्साएर, थर्काएर नराखी अघि बढाउनका लागि काँग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको समेत बताए । उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था राष्ट्रिय सभामा गरेर प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न सके मुलुकलाई स्थिर सरकार दिन सक्ने भएकाले त्यसका लागि पनि काँग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

सांसद खतिवडाले भने, ‘देश निर्माण गर्ने कुरामा पार्टी भन्दा माथि उठौँ । संविधानमा केही कुरामा संशोधन गरौँ । समानुपातिकलाई राष्ट्रियसभामा लैजाऔँ । प्रतिनिधि सभा पूर्ण प्रत्यक्ष बनाएर देश बनाउने कुरामा एक भएर हिँडौँ । स्थिर सरकार बन्न सक्छ । नभए स्थिर सरकार नबन्ने भयो । सधैँ टालाटुली बटुली । तपाईँले एउटालाई तान्ने, मैले एउटालाई तान्ने । तानातान गर्ने काम केही नहुने । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने चाहेँ ।’

कांग्रेस सांसद खतिवडाले मुलुकलाई अघि बढाउनका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने हुनाले त्यस क्षेत्रमा देखिएका समस्या समाधान गरेर अघि बढ्न आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖