• Monday 19th of October 2026

कांग्रेसबाट पटक-पटक धोका भयो: प्रधानमन्त्री प्रचण्ड


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन्।

आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

‘कांग्रेसबाट पटकपटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताए।

‘राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौं। पूर्वदेखि पश्चिमसम्मको तराई–मधेसलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई–मधेशलाई जोडेर उत्तर–दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ,’ उनले भने।

गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उनले बताए।
‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौं। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौं। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौं,’ उनले भने।

केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले बताए।

‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै संकट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ। देशका राजनीति सही बाटोमा आएको छ,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖