• Monday 19th of October 2026

माओवादीसँगको एकता सहमति खारेज


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले महिन्द्रराय यादव समूहले माओवादीसँग गरेको एकता खारेजभागी रहेको जनाएको छ । यादवले पार्टी फुटाएपछि अध्यक्ष बाबुराम भट्टराईले आज केन्द्रीय कार्यकार्यकारिणीका नेतासँग छलफल गरेका थिए ।

पार्टीको विधि तोडेर सत्ता समीकरणको खेलमा यादवसहितका नेता लागेकाले माओवादीसँगको एकताको विज्ञप्ति खारेज गरिएको र यससम्बन्धी भोलिको केन्द्रीय समिति बैठकले थप निर्णय गर्ने कार्यकारिणी सदस्य कृष्ण शर्माले बताए ।

यादवले एकता गरेको भनेर पार्टी पंक्तिलाई भ्रममा पारेको उनको टिप्पणी थियो ।

शर्माले भने, ‘केही साथी पार्टीबाट बहिर्गमित भएर माओवादीसँग एकता गरेको विज्ञप्ति पार्टीको निर्णय अनुसार होइन । हाम्रो पार्टीको एकता संयोजन समितिको संयोजकको पनि उपस्थिति छैन । स्वत: खारेजभागी छ । पार्टी विधि पद्धति, संगठनको अनुशासन तोडेर रातारात सत्ता समीकरणको खेलमा अमूक स्वार्थ पूरा गर्ने ध्येयले सिंगो पार्टी सदस्यलाई भ्रमित पारियो ।’

३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमध्ये २९ जना रहेको तीमध्ये बैठकमा २० जना उपस्थित भएको र केही बाहिर भएको भन्दै आफूहरूसँग बहुमत रहेको उनको जिकिर थियो ।

पार्टी महाधिवेशनको दिशामा अगाडि बढाउने गरी छलफल थालिएको उनले बताए ।

‘जनयुद्धको विरासत बोकेर आउनुभएका साथीहरू नेसपामा हुनुहुन्छ । कुर्सीको खेलमा नलाग्ने र देशको अग्रगमनका लागि कार्ययोजनासहित अघि बढ्ने भएका छौं’, शर्माले भने ।

बाबुरामसँग विभाजित भएर अर्का अध्यक्ष महिन्द्र यादव पक्षका नेताहरूले हिजो माओवादीसँग एकताको लागि चार बुँदे सहमति गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖