• Monday 19th of October 2026

महारा प्रहरीको निगरानीमा,जुनसुकै बेला पक्राउ पर्ने


  • धनकुटा खबर
  • .

त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद भएको झण्डै ६१ केजी सुन र विद्युतीय चुरोट (भेप)मार्फत भित्रिएको सुन तस्करी सम्बन्धमा छानबिन आयोगले दोषी करार गरेकाहरू प्रहरीको उच्च निगरानीमा परेका छन् ।

सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालगायत प्रहरीको निगरानीमा छन् ।

उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको आयोगले पूर्व सभामुख महरा दोषी रहेको ठहर गरेको थियो । चैत १ गते बिहीबार आयोगले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

आयोगले दोषी ठहर गरेकाहरू भाग्ने आशंकामा प्रहरीले बिहीबारदेखि नै विशेष निगरानी गरिरहेको सुरक्षा स्रोतले जानकारी दियो ।

‘सुन तस्करीमा जोडिएकाहरू नभागुन् भनेर बिहीबारदेखि प्रहरीलाई अलर्ट राखिएको छ’ गृह स्रोतले लोकान्तरसँग भन्यो ।

प्रतिवेदन कार्यान्वयनबारे गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पटक–पटक छलफल गरेका छन् । प्रचण्डले ‘गो अहेड’ भनेपछि गृहमन्त्रीले प्रतिवेदन कार्यान्वयनमा तदारुकता देखाएका थिए । पूर्व सभामुख र पूर्व अर्थ एवं गृहमन्त्री समेत रहिसकेका महरा सुन तस्करीमा आयोगले दोषी करार गरेका उच्च नेता हुन् ।

प्रहरी महानिरीक्षक वसन्त कुँवर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख श्यामलाल ज्ञवाली लगायतलाई आइतवार कार्यकक्षमै बोलाएर गृहमन्त्रीले कारबाही थाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै सीआईबीले अध्ययन शुरू गरेको छ ।

‘आयोगले डामेका सबै निगरानीमा छन्, जुनसुकै बेला पक्राउ पर्न सक्छन्,’ स्रोतले भन्यो ।

सुन तस्करी सम्बन्धमा शंकास्पद भूमिकामा रहेका व्यक्तिलाई आयोगले चार प्रकारको कारबाही सिफारिश गरेको छ ।

महरा लगायतलाई तत्काल कारबाही गर्नुपर्ने, सरकारी कर्मचारीलाई विभागीय कारबाही र केही व्यक्तिलाई निगरानीमा राख्न सिफारिश गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖