• Monday 19th of October 2026

ओली किन एकाएक नरम ?


  • धनकुटा खबर
  • .

काठमाडौं । माओवादीहरुलाई केपी ओलीको जुन कुरा मन पर्छ, त्यही कुराले उनीहरु हैरानसमेत हुने गर्छन् । ओलीको त्यो चरित्र हो– दृढता, जसलाई उनीहरु कुरा नमिलेका बेला ‘हठ, जिद्दीपना’ भनी अर्थ्याउँछन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड अनि एमाले अध्यक्ष केपी ओलीबीचको बालुवाटार बैठकमा आफू समेत सहभागी बनेर आएका उपमहासचिव वर्षमान पुन, जो त्यसबेला अर्थमन्त्री बनिसकेका थिएनन्, उनले हामीसँग कुराकानी क्रममा ओलीको खुलेर तारिफ गरे ।

‘प्रचण्ड कमरेडको लचकता अनि ओली कमरेडको दृढता याद गर्नुपर्ने खालको छ । प्रचण्ड सबैसँग मिलेर काम गर्न सक्ने, ओलीले खास बेलामा खास अडान लिन सक्ने’, फागुन २१ अर्थात् एमाले माओवादी गठबन्धन बनेको राति अनलाइनखबरसँग लामो संवादका क्रममा पुनले भनेका थिए, ‘मैले उहाँहरुलाई सुझाव दिने गरेको थिएँ कि तपाईंहरुको यो चरित्रलाई एकआपसको पूरक बनाएर लैजाउँ । पूरक बनाउँदा सकारात्मक भाव आउँछ । नत्र दृढता भनेको हठ जस्तो देखिने, लचकता भनेको अस्थिरता जस्तो देखिने खतरा हुँदोरहेछ ।’

ओलीलाई माओवादीहरु जति नजिकबाट चिन्दछन्, त्योभन्दा धेरै नजिकबाट एमाले पृष्ठभूमिका नेताहरु चिन्दछन् । जस्तो कि वामदेव गौतमलाई सुनौं न । उनका अनुसार ओली सकभर प्रतिद्वन्द्वीलाई जुनसुकै रणनीति लगाएर भए पनि कमजोर पार्ने कोसिस गर्छन्, आफ्नो अनुकुल भएन भने मिलेर भए पनि साइजमा राख्न खोज्छन् ।

वामदेव गौतम एमालेमा प्रवेश गरिमाग्न ओलीलाई फोन हानेको हान्यै छन् । ओली चाहिँ ‘हाइ लेभल कमिटीसँग कुरा गर्नु नि’ भन्दै पन्छाएको पन्छायै छन् । प्रतीक्षामा रहेका गौतम यति बेला एकाएक बदलिएका ओलीको तरिका देखेर परैबाट छक्क छन् ।

‘विपक्षमा भएका कार्यकर्तालाई आफूतिर तानेर हुन्छ कि, प्रतिस्पर्धीलाई आक्रमण नै गरेर ओलीजी आफू बलियो बन्न खोज्नुभयो, तर सक्नुभएन’, गौतम भन्छन्, ‘त्यसैले यति बेला चाहिँ उहाँ आत्मालोचना गर्दै विगत बिर्सने लाइनमा हुनुहुन्छ कि भन्ने लाग्यो । माओवादी र एकीकृत समाजवादी लगायत हामीसँगको सहकार्यलाई पार्टी एकतासम्मै लैजान सक्नुभयो भने उहाँ इतिहासमा अमर व्यक्ति र महापुरुष नै बन्न सक्नुहुन्छ ।’

खासमा माधव नेपाल वा वामदेवलगायत नेताहरुलाई यति बेला ओली केवल ‘इंगेज’ मात्रै गरिराख्ने रणनीतिमा देखिन्छन् । राष्ट्रिय राजनीतिलाई ट्र्याकभन्दा बाहिर जान नदिने, आफू मिसन ८४ तिर होमिने उनको भनाइ छ ।

ओलीसँग लगातार छलफलमा रहेका एक उच्च नेताका अनुसार यिनै अनुहारलाई लिएर ०८४ को चुनावमा जाँदा खासै सकारात्मक परिणाम नआउने भन्दै ओली प्लान बी मा छन् ।

‘अहिले माधवजी लगायत साथीहरुसँग पार्टी एकतासम्म पुग्दैनौं, सम्बन्धलाई सामान्य अवस्थामा फर्काउन समय लाग्छ’, ती नेताले भने, ‘राजनीतिक ट्र्याकमा बल्ल फर्केको छ, यही अवस्थालाई कायम राखेर आउँदो चुनावसम्म पुग्नुपर्छ भन्ने अध्यक्षज्यूको भनाइ हो ।’

विगत नेकपाकालमा प्रचण्ड र माधव नेपालसहित नेताहरुसँग अन्तरविरोध चुलिँदा तत्कालीन प्रधानमन्त्री समेत रहेका ओलीले सम्झौताहीन लडाइँमा ओर्लिने घोषणा गरेका थिए ।

आफूले भनेको जस्तो नभए प्रधानमन्त्रीको कुर्सी समेत भाँचेर अघि बढ्ने उनको धम्कीका कारण नेकपा विवाद उत्कर्षमा पुग्यो । उनले दुईपल्ट त संसद विघटनसमेत गरे । प्रचण्डको त कुरै भएन, आफूसँग लामो सहकार्यमा रहेका माधव नेपाललगायतसँग समेत उनको दूरी बढ्यो । नेकपामात्रै होइन, ०७७ मा एमालेसमेत फुट्यो ।

ओली सत्ताच्युत बनेसँगै प्रचण्ड, नेपाललगायत नेताहरुविरुद्ध चर्को धावा बोलिरहे । पार्टीका रुपमा अस्तित्व नै स्वीकार्न नमानेको एकीकृत समाजवादी, अनि यसका अध्यक्ष माधव नेपाललाई फकाउन ओली कहिले संसदीय समितिमा, कहिले संसद बैठकमा, कहिले कोटेश्वर निवासमा, कहिले बालुवाटारमा प्रयत्नरत छन् ।

माधव नेपालको घरमा केपी ओलीसहितका नेताहरु ।
तिनै ओलीमा हिजोआज आएको परिवर्तनले भने पार्टीभित्र–बाहिरका प्रतिस्पर्धीहरु समेत चकित बन्न पुगेका छन् । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ओलीमा आएको परिवर्तनलाई बुद्ध र अंगुलीमालको कथासँग दाँज्छन् ।

‘९९९ जनाको औंला काटिसकेपछि हजार नम्बरको व्यक्तिलाई काट्न अंगुलीमालले कोसिस गर्दा कसरी बुद्धबाट दीक्षा पाउन पुग्यो र ऊ बदलियो’, खनालले ओलीबारे बोले, ‘ओलीजीमा पनि अहिले अंगुलीमालमा आएको बदलावजस्तै परिवर्तन आइरहेको छ । यो वाम घटकहरुका लागि सकारात्मक कुरा हो ।’

हुन पनि संसदमा प्रतिस्पर्धी पार्टी र नेताबारे दुई घण्टा भन्दा बढी एकोहोरो प्रतिक्रियात्मक भाषण गर्ने ओलीले बुधबार केवल २८ मिनेट खर्च गरे । त्यो पनि पूरा संयमित ।

दुई साता अघिसम्म प्रधानमन्त्री प्रचण्डविरुद्ध आगो ओकलिरहेका ओलीले उनको काफी प्रशंसा गरे । कांग्रेसलाई केही प्रत्यक्ष, केही लाक्षणिक आक्रमण गरे । आफ्नो बेञ्चमा फर्केर माधव नेपालसँग खुसामद गरे ।

२१ फागुनको राति बालुवाटारमा ओली यस्तै नरम भावमा प्रस्तुत थिए । प्रधानमन्त्री त माओवादी अध्यक्ष प्रचण्ड भइहाले । गृहमन्त्रालयमा त्यस बेला रास्वपाको पूरा दाबी थियो । अर्थमन्त्रालय माओवादी नै राख्ने । अरु महत्वपूर्ण र मालदार भनिएका मन्त्रालय पनि उनीहरुकै । नयाँ गठबन्धनको सबैभन्दा ठूलो पार्टी भएर पनि एमाले टुलुटुलु हेर्ने ठाउँमा थियो ।

प्रधानमन्त्री प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने लगायत एमाले–माओवादी दोस्रो तहका केही नेतासमेत सहभागी उक्त बैठकमा गृहमन्त्रालय लामिछानेले छाड्दै नछाड्ने, अर्थमन्त्रालय प्रधानमन्त्रीले आफ्नो दलका नेतालाई दिन चाहने अडानबीच ओलीले आफ्नै शैलीमा कटाक्ष गरेका थिए, ‘हुन्छ नि, ठूला–ठूला मन्त्रालय तपाईंहरु लिनुहोस् । एमालेलाई खानेपानी मन्त्रालय त होला नि ।’

बैठकमा सहभागी एक माओवादी नेताका अनुसार ओली त्यसबेला उत्तेजनावश कटाक्ष गरिरहेका थिएनन्, बरु सक्दो नरम भएर सम्झाउने पक्षमा थिए ।

जबकि तिनै ओली दुई महिनाअघि अर्थात् ११ पुसमा अनलाइनखबरसँग अन्तर्वार्ता क्रममा पोहोर पुसको एमाले–माओवादी शक्ति विन्यासका क्रममा देखिएको विवाद सम्झना गर्दै थिए ।

ओलीले हामीसँग भनेका थिए, ‘उहाँले सबै ठूला मन्त्रालय आफैं चाहिन्छ भन्नुभयो । जलस्रोत मन्त्रालय पनि आफैं, गृहमन्त्रालय पनि आफैं राख्न खोज्नुभयो ।’

अनलाइनखबरको प्रश्न : प्रधानमन्त्रीले गृह मन्त्रालय आफ्नो पार्टीसँग हुनुपर्छ भन्नु स्वभाविक नै होला नि ?

ओलीको जवाफ : साझेदारीमा त्यस्तो हुन्न होला नि ।

तिनै ओलीले अहिले साझेदारी गर्दैछन् प्रचण्डसँग । जबकि महत्वपूर्ण मानिएका मन्त्रालयसमेत उनी त्याग्न तयार देखिए । बालकोटनिकट स्रोतका अनुसार भूराजनीतिक दबाबलाई रोक्नका लागि बलियो राष्ट्रिय एकता बन्न सकोस् भनेर ओलीबाट परिस्थिति समयमै ‘चेक’ गरिएको हो ।

‘देश बचाउने बेलामा को कति वर्ष, कति महिना पद पाउँछ भनेर छलफल गर्नु उचित हुँदैन’, ओली निकट नेताले भने, ‘राष्ट्रिय स्वार्थका लागि हामीले आवश्यक पहलकदमी लिएको हो, अध्यक्षले त्यसको नेतृत्व गर्नुभयो ।’

राजनीतिशास्त्री कृष्ण पोखरेल ओली नेपाली राजनीतिमा आफ्नो नयाँ व्यक्तित्व निर्माण गर्न लागिरहेको भन्दै सकारात्मक रुपमा व्याख्या गर्छन् । अरु कसैको दबाबले परिवर्तन नभई ओलीभित्र एक ठक्कर हजार चेत उखान चरितार्थ भएको उनको भनाइ छ ।

‘कांग्रेससँग प्रचण्डलाई पनि सहज भइरहेको थिएन, त्यही बेला ओलीले आफ्नो टोन डाउन गर्नुभयो’, पोखरेल भन्छन्, ‘माधवसँग आफैं कुरा गर्न जानुभयो । यो उहाँमा आएको ठूलो परिवर्तन हो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖