• Saturday 17th of October 2026

अझै भेटिएनन् त्रिशूलीमा ट्याक्सी खस्दा बेपत्ता भएका किशोर


  • धनकुटा खबर
  • .

शनिबार त्रिशुली नदीमा ट्याक्सी खसेर बेपत्ता भएका किशोर अझै भेटिएका छैनन्।

बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट करिब ५० मिटर तल त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोकाया, २८ वर्षीया अन्जना रोकाया, वडा नम्बर ७ फिनामका ४१ वर्षीया हरिमाया रोकाया र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको थियो।

१८ वर्षीय दिवस रोकाया भने बेपत्ता भएका थिए।
शनिबार साँझसम्म उनको खोजी भएपनि नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।

खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर, नेपाल प्रहरीको उद्दार टोली परिचालन गरिएको थियो।

अबेरसम्म खोजी गर्दा नभेटिएपछि शनिबारको खोजीकार्य स्थगित गरिएको थियो।

आज बिहानैबाट खोजी कार्य सुरू गरिने भनिएपनि गएरातिको वर्षाका कारण नदी धमिलो भएको र वहाब पनि बढेकाले सुरू हुन नसकेको डिएसपी ढकालले जानकारी दिए।

‘बिहानै हाम्रो टोली नदीको अवस्था हेर्न गएको थियो। नदीको बहाब बढेको र पानी पनि धमिलो भएकाले तत्काल खोजी कार्य सुरू गर्ने अवस्था रहेन। केही समयपछि सुरू गर्छौं,’ डिएसपी ढकालले भने।
बेपत्ता भएका किशोर शुक्रबार काठमाडौंको पशुपति आर्यघाटमा बाबुको अन्तिम संस्कार गरी परिवार तथा आफन्तसँग गोरखा फर्कँदै थिए।
त्यसक्रममा उनी सवार ट्याक्सी दुर्घटना भई त्रिशूलीमा खसेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖