• Monday 26th of October 2026

२० जनालाई रोजगारी दिने व्यवसायीलाई ३ वर्षसम्म व्यवसाय करमा छुट दिने महानगरको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार आयोजित १५ औँ नगरसभामा महानगरपालिका प्रमुख बालेन शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

काठमाडौँबासीको चाहनालाई सम्बोधन गर्ने लक्ष्यका साथ मौलिक र सुशासनयुक्त काठमाडौँ निर्माण हुने विश्वासको साथ नीति तथा कार्यक्रम बनाइएको शाहले जानकारी दिए ।

जसअनुसार ‘सांस्कृतिक सहर समृद्ध महानगर’को नारा काठमाडौँ महानगरको सांस्कृतिक पहिचानलाई दिगो बनाउँदै जीवन्त सहरको रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै कम्तीमा २० जना व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने गरी नयाँ दर्ता हुने व्यवसायीलाई सुरुको ३ वर्ष व्यवसाय करमा शतप्रतिशत कर छुट दिने घोषणा नीति तथा कार्यक्रममार्फत गरिएको छ ।

यस्तै महानगर क्षेत्रका सहकारीका कारोबारलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने, सहकारी सूचना केन्द्र बनाएर सुशासनलाई प्रभावकारी बनाउने, विद्यार्थीको मानसिक तथा शारीरिक विकासका लागि खेलकुद अनिवार्य गर्ने, विद्यार्थीको क्षमता विकासका लागि शैक्षिक र भौतिक पूर्वाधार निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै निजी तथा सामुदायिक विद्यालयको छात्रवृत्तिलाई एकद्वार प्रणालीमा सञ्चालन गर्ने, पढ्दै कमाउँदै अवधारणा अनुसार विद्यार्थीलाई पार्ट टाइमको कामको व्यवस्था मिलाउने लगायतका विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।

यसैगरी सामुदायिक विद्यालयका रिक्त शिक्षकका स्थानमा विभिन्न विश्विद्यालयका ‘गोल्ड मेडलिस्ट’ विद्यार्थीले करारमा भर्ना दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

काठमाडौँलाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यका रूपमा विकास गरी विदेशी विद्यार्थी आकर्षित गरिने समेत बालेनले बताए । यसैगरी बालेनले काठमाडौँ महानगरलाई सुरक्षित, समावेशी, सम्पन्न तथा जीवन्त सहर बनाइने पनि बताए ।

महानगरभित्र सञ्चालित स्वास्थ्य संस्थाको अनुगमन व्यवस्थित बनाइने, सहरी अति गरिबहरूका लागि एक घर एक रोजगारीको व्यवस्था गरिने, ज्येष्ठ नागरिकको ज्ञानलाई पुस्तान्तरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिने, रैथाने सिपको राष्ट्रिय तथा अन्तर्राष्ट्रियता ब्राण्डिङ गरिने, टुकुचालाई खुला बग्न दिन विशेष परियोजना सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

निर्माण सामग्रीको गुणस्तरको जाँचका लागि प्रयोगशाला बनाइने, सडक तथा फुटपाथ मर्मतका लागि पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिने पनि नीति तथा कार्यक्रम सञ्चालन गरिने छ ।

वसन्तपुर गुरुयोजना तयार गर्ने, हाँडीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने, जात्राहरूको संरक्षण गर्नेलगायत विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

सोही बैठकमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रगति समीक्षा पनि शाहले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖